महाभूकम्प-२०७२»
थोत्रा भए दरबारहरू
- सिंहदरबार, बहादुर भवन, केशरमहल, लाल दरबार, नारायणहिटी, शीतल निवाससहित राणाकालमा बनेका अधिकांश
- 'दरबार' मा क्षति भएको छ। कुनै बेलाका सान झल्काउने दरबार अब काल बनेर बसेका छन्।
यी दुई उदाहरण मात्र हुन्, मुलुकको प्रमुख केन्द्र र त्यहाँ बसेका व्यक्ति समेत भूकम्प आउँदा ज्यान जोगाउन भाग्नुपर्ने अवस्थाको। सिंहदरबार र सरकारका अन्य प्रशासनिक केन्द्रसँगै सार्वजनिक स्थान बनेका सबै राणाकालीन दरबार भूकम्पपछि क्षतिग्रस्त भएका छन्।
प्रधानमन्त्रीदेखि राष्ट्रिय योजना आयोगका पदाधिकारी र मुख्य सचिव बस्ने सिंहदरबारको मुख्य भवन ठाउँ–ठाउँमा चर्केको छ। सन् १९०३ मा चन्द्रशमशेर राणाले बनाएको यो घरमा १९७३ मा आगोले ठूलो क्षति पुगेको थियो। पछिल्लो भूकम्पले सिंहदरबार भित्रका अन्य घर सँंगै सबैतर्फको बाहिरी पर्खाल ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ।
चारैतर्फ भवन र बीचमा खाली स्थान रहेको सिंहदरबारको मुख्य भवन जोडिएका ठाउँमा टुप्पाबाट इँटा झरेका छन्। ंशुक्रबार दिउँसो मुख्य भवन छिर्दा प्रवेशमा कसैको रोकटोक वा सोधखोज थिएन। भुइँ तलाका केही कोठामा मात्र कर्मचारी देखिए। पहिलो तलादेखि नै भित्ता चर्केको थियो। सिँढीबाट माथितर्फ जाँदा हरेक तलाको अवस्था
उस्तै देखिए। सबैभन्दा
माथि रहेका हलदेखि योजना आयोगका पदाधिकारी बस्ने कोठासम्म पुग्दा क्षति सबैतिर भएको देखिन्छ। मुख्य भवनको दाहिने तर्फको दुईतले सानो भवनमा समेत क्षति पुगेको छ।
नजिकै रहेको अर्थ मन्त्रालयको हालत उस्तै छ। मन्त्रालयको देब्रे तर्फ रहेको सिँढी पुरै उप्किएको छ। भवनको डिपिसिसँग गारो छुट्टिन लागेको जस्तो देखिन्छ। भवनभित्र पहिलो तलामा भित्ता चर्केको छ। अर्कोतर्फ रहेको तीन वर्ष मात्रै पुरानो परराष्ट्र मन्त्रालयको भवन पनि बीचबाट चर्किएको छ।
'शान्ति मन्त्रालयमा पनि क्षति पुगेको रैछ,' पुरानो प्रतिनिधिसभा भवन नजिकै भेटिएका एक प्रहरीले भने। पुरानो संसद् भवनको दाहिने र देब्रे तर्फको भित्ता पुरै चर्किएको छ। देब्रे तर्फको भाग खस्नै लागेजस्तो देखिन्छ। 'दुवैतर्फ चर्केको छ तर भित्र खासै क्षति भएको जस्तो देखिँदैन' भवन अगाडि रहेकी सहायक मर्यादापालक महिलाले भनिन्। छेवैमा रहेको व्यवस्थापिका संसद् सचिवालयको नयाँ भवनमा पनि केही क्षति पुगेको छ। भवनको बीचमा तलदेखि माथिसम्म चर्केको छ। देब्रेतर्फको सिँढी रहेको ठाउँ पनि भवनबाट छुट्टिन लागेको छ।
निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालय रहेको जमल कान्तिपथ स्थित बहादुर भवनमा पनि क्षति पुगेको छ। सन १८८९ मा मुलुककै पहिलो होटलका रूपमा यसलाई निर्माण गरिएको थियो। 'आज इन्जिनियरहरू आएर हेर्नुभएको छ,' निर्वाचन आयोगका कार्यालय सहायक भायानाथ घिमिरेले भने, 'केही कोठामा नपस्नु भनेका छन्।' उनले भित्र छिराएर क्षतिग्रस्त भएका केही कोठा देखाए। 'एक जना सहसचिवले कार्यालयमा आवश्यक कागजात माग्न पठाउनुभएको थियो,' उनले भने, 'भूकम्प आउँदा म त्यही लिन भित्र छिरेको थिएँ।' पहिलो तलामै रहेका उनी भाग्न खोज्दा भित्ताबाट इँटा खस्न थालेपछि रोकिएका थिए। 'अहिले भित्रै बसिरहेको छु' उनले भने। भवनको बरन्डा भत्किएको र विभिन्न कोठामा भित्ता चर्केको उनले बताए।
पहिला लाल दरबार भनेर चिनिने याक एन्ड यती होटलको पुरानो भवनमा समेत क्षति पुगेको छ। भवन बाहिरकै बाटोको सतह एक ठाउँमा दबेको छ। क्यासिनो र कार्यक्रम गर्ने हलहरूको रहेको
भवन बीचबाट चर्केको छ। 'भित्र पनि सतह तलमाथि भएको छ' बाहिरबाट भवन नियालिरहेका
एक क्यासिनो कर्मचारीले सुनाए, 'दुईपटक गरेर बनाएको र जोडिएकाले भवनको बीचमा चिरा परेको हो।' वीरमशेरले सन् १८९० मा यसलाई बनाएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केशर पुस्तकालय रहेको केशरमहल पनि क्षतिग्रस्त भएको छ। १८९५ मा बनेको यो भवनको पहिलो तलमा भित्ता चर्किएर उप्किएका पाप्रा भुइँभर झरेका छन्। सिंहदरबारको मुख्य भवन जस्तै गरी चौरैतर्फ जोडिएका भवन र बीचमा केही स्थान केशरमहलमा खाली छ।
खाली स्थानबाटै चारैतर्फ भवन हेर्दा सबैमा क्षति देखिन्छ। कार्यालयका कम्प्युटर बाहिर टेन्टभित्र राखेर काम भइरहेको छ। संग्रहालय बनेको नारायणहिटी दरबारको पनि ठाउँ–ठाउँमा पर्खाल भत्किएका छन्। मुख्य गेटको दाहिनेतर्फ रहेको पुरानो गेट माथिबाट खसेको छ। दरबारभित्र कार्यरत एक सैनिक अधिकृतका अनुसार विभिन्न भवन भत्किएका छन्। 'मुख्य संरचना पनि चर्केको
छ,' ती अधिकृतले भने। नारायणहिटीभित्रै भूकम्प जाँदा केही सैनिकको मृत्यु समेत भएको बताइन्छ। तर यसको पुष्टि भएको छैन। नारायणहिटी दरबार १८४७ मा जंगबहादुरका भाइ बद्रीले बनाएका हुन्। पछि शाहवंशले विभिन्न संरचना थपेको थियो।
जुद्धशमशेरले १९६४ मा बनाएको भवनमा बसेको शंकर होटलमा पनि क्षति पुगेको छ। होटलले आफ्ना सबै ग्राहक सुरक्षित रहेको र अन्यत्र सार्ने काम भइरहेको जानकारी वेबसाइटमा राखेको छ। पछिका बुकिङ पनि रद्द गरेर ग्राहकलाई रकम फिर्ता गर्ने सूचना जारी गरेको छ। सेनाको मुख्यालयको संरचना पनि क्षतिग्रस्त भएर पाल टाँगेर काम भइरहेको छ। भद्रकालीस्थित मुख्यालयमा रहेको सेनापतिको कार्यालयदेखि अन्य विभाग तथा इकाई बाहिर राखिएको छ। सेनाकै भैरवनाथ गणमा पनि भूकम्पले क्षति पुगेको छ।
No comments:
Post a Comment